हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौ/२८ भाद्र
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै संसद बैठक अवरुद्ध गरेको छ । तीन वटा बिषयगत समितिले मौलिक हकसँग सम्बन्धित महत्वपूर्ण ५ वटा विधेयक प्रतिवेदन सहित पेश गर्ने कार्यसूची सहित बोलाईएको बैठकको सुरुमै कांग्रेस सांसदले बैठक अवरुद्ध पारेका थिए ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले निर्मला हत्याबारे सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने बताउनुभयो । प्रहरी प्रशासन आफै अपराधी संरक्षणमा लागेको आभास मिलेको भन्दै उहाँले सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो ।
यस्तै कांग्रेसले खोजतलाश साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतको पक्राउ र तरुण दलका रोल्पा नगरपालिका अध्यक्ष रोहित पुनको हत्याबारे सरकारको जवाफ मागेको छ ।
लगत्तै सभामुख कृष्णबहादुर महराले निर्मला हत्याबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभयो । कांग्रेस सांसदको अवरोधपछि १० मिनेटका लागि स्थगित बैठक केहीबेरअघि सुरु भएको छ । बैठकमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कांग्रेसले उठाएका तीनै वटा बिषयमाथि भोलिको संसद बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने प्रतिवद्धता जनाउनुभएपछि बैठक सुरु भएको हो ।
जवाफका क्रममा सरकारीस्तरबाट गठन भएको उच्चस्तरीय छानविन आयोगले प्रतिवेदन बुझाए लगत्तै सरकारले कारवाही अघि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै