सम्पादकीय / विश्वास जगाउन जरुरी
दिनानुदिन बलात्कार र हत्याका घटनामा भएको वृद्धिले जनमानसमा डर ,अविश्वास र आक्रोश एकसाथ जन्माएको छ । करिब डेढ महिना अघि महेन्द्रनगरमा तेह्र बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरुलाई गिरफ्तार गर्न नसक्नुमा प्रहरीको कमजोरी देखिन्छ । अपराधीलाई गिरफ्तार गर्न नसकिए पनि अनुसन्धान कार्य प्रती सर्वसाधारणलाई विश्वास दिलाउन नसक्नु अर्को ठूलो कमजोरी थियो । जुन घरमा पीडित गएको थियो,त्यही घरको मान्छे र आउने जाने मान्छेहरुलाइ सुरुमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको भए प्रहरी प्रती विश्वास कायम रहन्थ्यो । तर त्यसो नगरी निर्दोष मान्छेलाई पक्राउ गर्ने देखि प्रमाण मेटने कार्य गरेको देखिन्छ । यसबाट जनमानसमा सिंगो प्रहरी प्रशासन प्रती अविश्वास जन्मायो । हालपनि निर्मला हत्याका दोषी भनेर प्रहरीले भनिरहेको व्यक्ति दिलिपसिंहलाई हत्यारा हैनन,उनी मानसिक अवस्था ठिक नभएका डरपोक व्यक्ति हुन भनेर उनकै छिमेकीहरुले भनिरहेको अवस्थामा उनलाई कुटपिट गरि जवर्जस्ती कबुल गराउने कार्य हुनु अत्यन्त निन्दनीय छ । उनलाइ अँध्यारो कोठामा थुनेर निर्घात कुटपिट गरिएको उनको पारिवारिक सुत्रले भनिरहेका छन । यसरी मानवअधिकारको समेत ख्याल नगरी जबर्जस्ती निर्दोषलाई कबुल गराउन लगाएर अनुसन्धान कार्य हुन सक्दैन । र यसरी सर्वसाधारणको विश्वास जित्न सकिँदैन । अपराधीलाई बचाउन प्रहरी नै लागिपरेका छन भन्ने जुन सन्देश सर्वसाधारणमा पुगेको छ, त्यसलाई गलत सावित गराउन प्रहरीले निष्पक्ष अनुसन्धान थाल्न जरुरी छ । अपराधी जतिसुकै माथिल्ला दर्जाका व्यक्ति भएपनी कानूनी राज्यको सहि मान्यता कायम गर्ने हो भने कानूनी कटघरामा ल्याईनु पर्दछ । नत्र संविधानमा उल्लेख गरिएका कानूनी राज्य, मानवअधिकार जस्ता लोकप्रिय शब्दहरुको धज्जी उडनेछ । र यो संगै वर्तमान लोकतान्त्रिक व्यवस्था प्रती जनताको अविश्वास बढनेछ । जुन देशको लागि ठूलो घातक हुनेछ ।
Comments
Post a Comment