बेपत्ता भनिएका पुनर्वासका युवक मृत फेला, प्रेमीसँग मिलेर श्रीमानको हत्या

हेमन्त न्याैपाने
कञ्चनपुर, असार १२

       कैलालीको गोदावरी नगरपालिका स्थित ससुराली गएका बेला बेपत्ता बनेका पुनर्वासका तेजबहादुर विष्टको मंगलबार शव फेला परेको छ ।  प्रेमी दीपक खत्रीसँग मिलेर मृतककी श्रीमती लक्ष्मी बडैला बिष्टले माइती घर नजिकैको भासु भीरबाट धकेलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

   माइत गएकाबेला श्रीमानलाई घुम्न जाने भन्दै खानीडाँडा लगेर भीरबाट मोटरसाइकलसहित धकेलेर हत्या गरेको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । कल डिटेलको आधारमा अनुसन्धान गर्दैजाँदा हत्याको रहस्य खुलेको प्रहरीले बताएको छ । लक्ष्मी बडैला, उनका प्रेमी खत्रीसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे ।

पुनर्वास नगरपालिका वडा नम्बर २ दसरथ बस्तीका तेज बहादुर बिष्ट बेपत्ता बनेपछि फेसबुक लगायत समाजिक सञ्जालमा व्यापक खोजी गरिएको थियो ।

बिष्टको लास सडकबाट झण्डै सात सय मिटर तल भेटिएको थियो । म२प ७४७७ नंको मोटरसाइकल सडकवाट १३० मिटर तल भीरमा खसेको छ । भीरबाट आज शव उठाएर सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएको छ । घुम्न जाने बहाना बनाई लक्ष्मीले आफ्ना प्रेमी खत्रीसँग मिलेर श्रीमान बिष्टलाई भासुको भीरसम्म पु¥याई कुटपिट गर्दै सोही भीरबाट खसालेर हत्या गरेको खुल्न आएको घिमिरेले बताए । 

Comments