पुनर्वास नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न
महत्वाकांक्षी निति तथा कार्यक्रम प्रस्तुत, गत बर्षको निति तथा कार्यक्रम कागज मै सिमित
हेमन्त न्यौपाने
पुनर्वास, असार १०
देशैभरका स्थानीय निकायले शनिबार आफ्नो नगरसभा सम्पन्न गरिरहँदा पुनर्वास नगरपालिकाले पनि नगरसभा सम्पन्न गरेको छ । नगरपालिकालाई विकास, समृद्ध र सुशासनको लक्ष्यमा डोर्याउन नगरसभामा निति तथा कार्यक्रमको योजना प्रस्तुत गरिन्छ । शनिबार पुनर्वास नगरपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा पुनर्वासको समृद्धिमा सबै पक्षलाई समेटेर महत्वाकांक्षी निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
नगरप्रमुख जीवनराज थापाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम चालु आर्थिक बर्षको भन्दा धेरै थपिएको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले लिएको साना ठुला सबै खाले नीतिमा पुर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरु, फोहोरमैला बाताबरण तथा प्रकोप व्यवस्थापन, सेवा प्रबाह संस्थागत विकास सुशासनसंग सम्बन्धि नीति लगायत ५२ बुँदामा समेटेर प्रस्तुत गरिएको निति तथा कार्यक्रमको कार्यान्वयन भने चालु आर्थिक बर्षमा देखिएन । नगरपालिकाले पर्यटकीय क्षेत्रको विकास, घरेलु तथा कुटिर उद्योगको स्थापना, शौर्यबत्ती जडान, फोहरमैला व्यवस्थापन गर्न डम्पिङ साइडको निर्माण, जथाभावी फोहोर गर्नेलाई कारबाही गर्न अनुगमन समितिको निर्माण, मल्टिकम्लेक्स भ्यु टावरको निर्माण लगायतका विविध योजनाहरु आर्थिक बर्ष ०७४/०७५ मा समेटेपनि नितिमा टेकेर बजेट विनियोजन गरि कार्यान्वयनमा भने ल्याउन सकेन ।
आर्थिक बर्ष०७५/०७६ को निति तथा कार्यक्रममा धेरै योजनाहरु जोडिएको छ । यसै अनुसारको बजेटले नितिलाई पछ्याएमा विकास धेरै टाढा नरहेको प्रदेश सभा सदस्य सांसद तारा लामा तामाङले बताए ।
पुनर्वास वडा नम्बर ८ का वडा अध्यक्ष राना श्रावणले आगामी बर्षका लागि प्रस्तुत गरिएको निति तथा कार्यक्रमले समग्र विकासको परिकल्पना गरेको बताए । वडाध्यक्ष रानाले गत आर्थिक बर्षमा लिईएका निति तथा कार्यक्रममा नगरपालिका पुग्न नसक्नुको कारण नीति तथा योजनाका बारेमा अनुभवको कमि नै भएको बताए । उनले नगरसभामा आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सदस्य संख्या अल्पमतमा परेका कारण समेत कुनै बिषयमा बिरोध गर्दा बहुमतले पेल्ने गरेको बताए । आगामी आर्थिक बर्षमा भने निति तथा कार्यक्रममा टेकेर बजेट विनियोजन गराउनमा आफ्नो साथ र समर्थन रहने उनले बताए ।
त्यस्तै, वडा नम्बर ९ का वडाध्यक्ष नारायण जैशीले चालु आर्थिक बर्षमा नयाँ अभ्यास भएका कारण नीति तथा कार्यक्रममा चल्न कठिनाइ भएको बताए । नगरसभा सदस्यहरु सकारात्मक र योग्य नितिमा अडिग भएर आफ्नो धारणा राख्न नसक्नु र जे आउछ त्यसैलाई स्वागत गर्ने परिपाटीले गर्दा समेत यस्तो हुन गएको उनले जिकिर गरे । उनले आगामी आर्थिक बर्षका लागि नगरपालिकाले प्रस्तुत गरेको नितिमा टेकेर बजेट ल्याउने र त्यसलाई सफल बनाउनेमा नगरपालिका र आफु प्रतिबद्ध रहेको बताए ।
त्यस्तै, वडानम्बर २ का वडाध्यक्ष सन्त कुमार चौधरीले निति तथा कार्यक्रम जसरी आएको छ त्यसैगरी लागू हुनुपर्छ भन्ने आफ्नो मान्यता भएको बताए । उनले नयाँ अभ्यास भएका कारण चालु आर्थिक बर्षमा नगरपालिकाले लिएको निति तथा योजना त्यति ख्याल नै नभएको बताए ।
नगरपालिकाले अनुमानित रु. ४९,९८,४७,००० |- ( उन्पचास करोड अन्ठानब्बे लाख सत्चालीस हजार रुपैयाँको बजेट नितिलाई पछ्याएको छ । आन्तरिक राजश्वबाट रु. १,६४,२१,०००, राजश्व वांडफाँड प्राप्त संघबाट रु. ९,५१,३५,०००, राजश्व वांडफाँड प्रदेशबाट रु. ८७,३२,०००, अन्य आय रु. ७,५५,००,०००, नेपाल सरकारबाट अनुदान रु. २९,६४,००,०००, र प्रदेश सरकारबाट आउने रु. ७६,४९,००० को अनुमानित बजेट प्रस्तुत गरेको छ ।
महत्वाकांक्षी योजना लिने तर कार्यान्वयन पक्षमा ध्यान नदिने हो भने यस्तो निति तथा कार्यक्रमले कुनै उपलब्धि गर्न नसक्ने स्थानीय बताउछन । बजेट विनियोजनमा निति तथा कार्यक्रम केन्द्रित भएर उत्कृष्ट भन्दा उत्कृष्ट योजना लिनुपर्ने स्थानीय सर्वसाधारणको धारण छ ।
Comments
Post a Comment