लालझाडीमा जंगली हात्ती भगाउन टर्चलाइट वितरण
कञ्चनपुर, रासस । जंगली हात्तीको झुण्डले पुर्याउने नोक्सानी न्यूनीकरण गर्न लालझाडी गाउँपालिकाले टर्च लाइट वितरण गरेको छ ।
हात्तीको झुण्ड भगाउनका लागि गाउँपालिकाले ६१ हजार रकम खर्चेर ६० थान टर्चलाइट वितरण गरेको हो ।
“हात्तीले क्षति पुर्याउने क्षेत्रको पहिचान गरी वडा नं १ देखि ६ नम्बर वडाका बासिन्दालाई टर्चलाइट वितरण गरेका छौँ,” गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले भने ।
यसैगरी, ट्रयाक्टरमा डिजेल हाली ठूलो आवाज निकाल्नका लागि १४ हजार मूल्य बराबरको डिजेलसमेत गाउँपालिकाबाट उपलब्ध गराइएको उनले बताए ।
भारतीय दुधुवा नेशनल पार्कबाट बस्ती छिर्ने जंगली हात्तीको झुण्डले वर्षेनी यहाँ उखुबाली, धान र गहुँ बालीमा नोक्सानी पुर्याउनुका साथै स्थानीय बासिन्दाको घर भत्काई भण्डारण गरेको अन्न समेत खाँदै आएको छ ।
प्रत्येक वर्ष हात्तीको झुण्डले मानवीय क्षति समेत निम्त्याउँदै आएको छ ।
Comments
Post a Comment