नारायणगढ–मुग्लिन सडक भासिएका कारण दिनभर यातायात अवरुद्ध हुने

चितवन, १५ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो ।
सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ ।
सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक/एक स्थानमा पहिरो खसेको थियो ।
आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ । केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उहाँले बताउनुभयो । खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध भएको हो ।
पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । पहिरो खसेपछि हिजो साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् । रासस 

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा