यसरी हुन्छ अञ्चल अस्पतालबाटै बिरामीको ‘किनबेच’ ! कतै तपाईको ठाउँमा पनि यस्तै भएको त छैन?
फाइल तस्बिर :-
भदौ १५, २०७४ ,राजविराज ।।पत्याउन गाह्रो पर्छ तर राजविराजस्थित अञ्चलस्तरीय अस्पतालमा यस्ता दृश्य सामान्य लाग्छन्। यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दिनहुँ बिरामीको किनबेच चलिरहेको हुन्छ। अस्पतालका वार्ड र हाताभित्र यस्तो कारोबार गराउने एजेण्ट छ्यापछ्याप्ती भेटिन्छन्।
अस्पतालअगाडि भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्बद्ध व्यक्तिहरू उपचार बिचौलिया बनेर बिरामी किन्ने र निजी अस्पतालाई बेच्ने गरिरहेका हुन्छन्। अञ्चल अस्पताल अगाडि लहरै संधै आधा दर्जनभन्दा बढी संख्यामा खडा रहने मारुती भ्यान, एम्बुलेन्सका चालक तथा निजी अस्पतालले खटाएका एजेण्टले त्यहँबाट बिरामी लगिदिएबापत आकर्षक रकम पाउने गरेका छन्। बिरामीलाई अस्पतालबाट वा बाटैबाट मोडेर विराटनगरलगायतका स्थानमा भएका निजी अस्पताल तथा क्लिनिकमा ओसारिन्छ। एक बिरामी लगिदिएबापत चालकहरुले न्यूनतम ५ सयदेखि डेढ हजारसम्म रकम पाउने गरेका छन्।
अस्पतालभित्र र वरपर हुने यस किसिमको खरिद बिक्रीबारे स्थानीय बासिन्दा पनि जानकार छन्। ठूला निजी स्वास्थ्य संस्थाले विरामी पठाउन सहयोगी वातावरण होस् भनेर आफ्ना एजेण्ट नै सरकारी अस्पतालमा खटाउने गरेको स्थानीय बासिन्दा बताउँछन्।‘‘पूर्वाञ्चलका निजी अस्पतालले बिरामी तान्न ‘मार्केटिङ एक्ज्युकिटिभ’ समेत यहाँ खटाएका छन्,’ एक स्थानीयले भने। ‘मेरी श्रीमती नितुदेवी यादवलाई यहाँ आकस्मिक उपचारमा ल्याउँदा घण्टौं कुर्नुपर्यो त्यहीबेला यहाँबाट बाहिर उपचार गराउन लाने हो भने मारुती भ्यान मगाइदिन्छु भनेर अस्पतालमै मलाई भन्न आइपुगे,’ स्थानीय युवा देवनारायण गुरमैताले कान्तिपुरसँग भने । औषधि बिक्री प्रवर्धन गर्ने ‘मेडिकल रिप्रजेन्टेटिभ’जस्तै निजी अस्पतालको व्यापार प्रवर्धन गर्ने प्रतिनिधिमात्र नभई चिकित्साकर्मीहरुसमेत यसमा संलग्न रहेको स्थानीयको दाबी छ।
यो कुरा अस्पताल प्रशासनसँग पनि छिपेको छैन । ‘विराटनगर लगायतका निजी अस्पतालमा एउटा बिरामी ल्याएबापत एम्बुलेन्स चालकले ५ सय देखि १५ सयसम्म पाउछन् भन्ने हामीले पनि सुनेका छौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दयाशंकरलाल कर्ण भन्छन्, ‘हरेक सरकारी अस्पताल अगाडि एम्बुलेन्स र निजी गाडी हुन्छन्, उनीहरुले बिरामी किनबेचको सेटिङ मिलाएका हुन्छन्।’
बिरामी किनबेचमा अस्पतालका चिकित्सक, चिकित्साकर्मी समेत संलग्न रहेको दाबीलाई भने उनले अस्वीकार गरे । ‘यो काम बाहिरको गिरोहले गरिरहेको हो, अस्पतालको कुनै संलग्नता छैन,’ उनले बताए । उनले यस्तो दलाली रोक्न अस्पतालमात्र नभई स्थानीय नागरिकसमेतको सहयोगको खाँचो रहेको बताए ।
Comments
Post a Comment