दुई चरणमा चुनाव गर्ने निर्णयप्रति एमाले असन्तुष्ट

१४ भदौ, काठमाडौं।।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र संघको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

बैंककमा स्वास्थ्य उपचार गरी बुधबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई चरणमा चुनाव गर्नुपर्नाको औचित्य नदेखेको बताए ।

ओलीका अनुसार निर्वाचन आयोगले सुरुमा निर्वाचन मिति मंसिर ४ र २१ गते दुई चरणमा गर्ने प्रस्ताव गरेको थियो । एमालेको सुझावपछि १० गते एकैचरणमा गर्ने निर्णय भएको थियो ।

‘मत पत्र छाप्ने लगायतको तयारीका लागि ४ गतेको चुनावलाई १० गते सारेपछि फेरि १० गतेको चुनाव २१ गतेलाई सार्नुपर्ने आवश्यकता हामी देख्दैनौं,’ ओलीले भने ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले १० गते र २१ गते दुई चरणमा चुनाव गराउने निर्णय गरेको छ । यसअघि १० गते एकै चरणमा प्रदेश र संघको चुनाव गराउने सरकारले निर्णय गरेको थियो ।

दुई चरणमा चुनाव गराउने विषयमा एमालेसँग सरकारले परामर्शसमेत नगरेको ओलीले गुनासो गरे ।

उनले निर्वाचनमा धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘भ्याइएन भने पनि जिम्मेवार राजनीतिक दलहरुसँग परामर्श गरेर जानुपर्छ र विश्वासको वातावरण बनाउनुपर्छ,’ ओलीले भने, ‘दुई चरणमा गर्नुपर्ने आवश्यकता मैले चाहिँ बुझेको छैन ।’

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान