ओली नेतृत्व सरकारमा दुई जना उपप्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का



काठमाडौँ,असार ३०
 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम लगभग टुंगो लागेको छ ।
संसदमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम लगभग टुङ्ग्याएका हुन् ।

शिर्षतहमा भएको सहमति अनुसार नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री हुनेछन् । काँग्रेसबाट एक र एमालेबाट एक जना उपप्रधानमन्त्री रहने सहमति भएको छ ।

जसअनुसार एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधानमन्त्री बन्ने पक्का जस्तै छ । काँग्रेसबाट कसलाई उपप्रधानमन्त्री बनाउने भन्ने विषयमा टुंगो लागि नसकेको नेताहरूले बताएका छन् ।

‘सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा दुवै दलबाट लगभग टुंगो लागेको छ, ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री बन्ने सम्भावना छ,’ एक एमाले नेताले भने, ‘एमालेबाट विष्णु पौडेल अर्थसहित उपप्रधानमन्त्री बन्नुहुन्छ । काँग्रेसबाट टुङ्गिन बाँकी छ ।’

एमालेबाट पौडेलसहित उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा,तारा लामा तामाङ, जुली महतो लगायत मन्त्री बन्ने चर्चा छ । यद्यपि अध्यक्ष ओलीले कसलाई मन्त्री बनाउँछन् भन्ने पार्टीमा जानकारी नभएको बताइन्छ ।

एमाले सांसद विद्या भट्टराईलाई ओलीले नै मन्त्री बन्न अफर गरे पनि उनले पारिवारिक समस्या देखाउँदै मन्त्री बन्न इच्छा नगरेको बुझिएको छ । एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ ।
यता काँग्रेसबाट भने मन्त्री बन्नेको नाम टुंगिन बाँकी छ । कांग्रेसले योग्यता र योगदानका आधारमा मन्त्री छान्ने मापदण्ड बनाएको छ । जस अनुसार सभापति देउवाले मन्त्रीका लागि गृहकार्य गरिरहेका छन् ।

कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि दाबी पेस गरेका ओली सम्भवतः आजै प्रधानमन्त्रीमा नियुक्त हुन सक्छन् । प्रधानमन्त्री नियुक्त भइसकेपछि दुवै दलबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम सार्वजनिक गरिने नेताहरू बताउँछन् ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै