नेकपा एमाले पुनर्वासको जेठ ३२ मा दोस्रो नगर अधिवेशन हुने
-लाल बहादुर एस के
कञ्चनपुर/जेष्ठ ३०
नेकपा एमाले पुनर्वासको जेठ ३२ मा दोस्रो नगर अधिवेशन हुने भएको छ । अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको नगर सचिव काशीराम बोहोराले जानकारी गराउनु भएको छ ।
नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले समुद्घाटन गर्ने तय भएको सचिव बोहोराले जानकारी दिनुभयो । नगर अधिवेशनका लागि नगर कमिटी, भुगोल, जनसंगठन लगायतबाट प्रतिनिधि चयन गरी सकिएको र अधिवेशनका लागि महिला र पुरुष गरी १८० जना प्रतिनिधि छनोट गरिएको नगर अध्यक्ष पदम पुजाराले बताउनुभयो। नगर कमिटी सर्वसम्मत रुपमा चयन गर्ने तयारी गरिएको उहाँले बताउनु भयो ।
नगर कमिटीमा २० प्रतिशत युवा, ३३ प्रतिशत महिला र अन्य समावेशी बनाइने नेकपा एमाले कञ्चनपुरका युवा नेता भारमल सुनारले बताउनुभयो । अधिवेशनका लागि २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको र सो को व्यवस्थापन प्रवेश शुल्क र आन्तरिक आयबाट गरिने उहाँले बताउनुभयो । सुनारका अनुसार अधिवेशनका लागि प्रतिवेदन तयारी, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन, जलपान, स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।
Comments
Post a Comment