अनुमती बिनै ‘सिसिटिभी क्यामेरा’ जडान
पुष्कर भट्ट
कञ्चनपुर, जेठ १४ ।
कञ्चनपुरको एक सामुदायिक विद्यालयले अनुमती बिनै ‘सिसिटिभी क्यामेरा’ जडान गरेको छ । भीमदत्त नगरपालिका–१३ बडैपुरको सिद्धनाथ माध्यामिक विद्यालयले अनुमती नलिएरै विद्यालयमा ‘सिसिटिभी क्यामेरा’ जडान गरेको हो ।
सिद्धनाथ माध्यामिक विद्यालयका प्रअ खडक सिह ऐडीले विद्यालयमा सुरक्षाका लागि क्यामेरा जडान गरिएको बताए । उनका अनुसार कार्यालय, कम्प्युटर ल्याब, स्टाप कक्ष, कक्षा ९ र १० मा क्यामेरा जडान गरिएको छ । ‘विद्यालयमा विद्यार्थी र बाहिरका विद्यार्थीविच झै–झगडा हुन्छ, ‘उनले भने, ‘बाहिरबाट आएका केटाहरुलाई नियन्त्रण गर्नका लागि क्यामेरा जडान गरेको हौँ ।’
विद्यालय व्यवस्थापन समितिको निर्णय नगरेरै प्रअ ऐडीले क्यामेरा जडान गरेपछि विद्यालयमा विवाद उत्पन्न भएको छ । प्रअले एकलौटी ढङले विद्यालयमा क्यामेरा जडान गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी रुष्ट भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवती थापाले प्रअ ऐडीले विद्यालय व्यवस्थापन समितिको निर्णयबिनै विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको बताए ।
सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि २०७२ ले तीन प्रकारले सिसिटिभी जडान गर्ने ठाउँको वर्गीकरण गरेको छ । उक्त कार्यविधि अनुसार सार्वजनिक क्षेत्रका लागि, अपराध न्यूनिकरण, ट्राफिक नियन्त्रण र सुरक्षासँग जोडिएका संवेदनशील क्षेत्रमा जडान गरिने सिसिटिभी सार्वजनिक क्षेत्रका लागि प्रयोग हुने, त्यस्तै व्यापारिक प्रयोजन र निजी प्रयोजनका लागि भनेर छुट्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कुनैपनि विद्यालयले सिसिटिभी क्यामेरा जडानका लागि अनुमती नलिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सुचना अधिकारी उदय प्रकास जोशीले प्रशासन बाट अनुमती लिएर मात्रै सिसिटीभी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था भएको बताए अनुमती लिएर मात्रै जडान गर्न पाईने भन्दै उनले अनुमती बिनै जडान गर्न नपाईने बताए ।
कञ्चनपुरका व्यवसायिक क्षेत्र, विद्यालयले अनुमती नलिएकै सिसिटिभी क्यामेरा जडान गर्दा समेत सम्बन्धीत निकायले बन्द गर्न पहल गरेको छै्रन ।
Comments
Post a Comment