बि.सं.२०७४ साल कार्तिक १४ गते मङ्गलवारको राशिफल

नेपाली मितिः वि.सं. २०७४ आश्विन महिनाको १४ गते मङ्गलवार । अँग्रजी मितिः ई.सं. २०१७ अक्टोबर महिनाको ३१ तारिख

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अनुकूल रहेको देखिन्छ । आयआम्दानी बढ्ने तथा उद्यमव्यवसायको विकास हुनेछ । कसैकसैलाई कैफियत युक्त आम्दानीतर्फ पनि मन आकर्षित नहोला भन्नसकिन्न । मनलाई संयम गर्न नसकेमा त्यसको परिणाम पछुतोजन्य आउनसक्ने सम्भावना छ । सामान्यतया आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन उपलब्धिमूलक रहनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र व्यवहारिकता निर्वाह गर्न पर्नेछ । स्वजनको शुभसमाचार सुन्न पाइने छ । आज यहाँको लागि २ अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने हनुमानदेवको श्रद्धाभक्ति गर्नु कल्याणप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने छ । तथापि ग्रहको केही अबरोध पनि देखिएको छ । विशेष प्रयत्न गरिएको कामकार्यमा केही अड्चन तथा संघर्षको सामना गर्न नपर्ला भन्न सकिन्न । तरपनि सामान्यतया पेशा एवम् व्यवसायिक क्षेत्रबाट लाभ गर्नसकिने छ । राजनीति, समाजसेवा तथा सांगठानिक क्षेत्रमा जिम्मेवारी तथा पदीय हैसियत बढाउने जमर्को हुनसक्ने छ । तुरुन्तै हातमा नलागेपनि भविष्यको लागि केही आश्वासन पनि मिल्नसक्ने छ । बढी महत्त्व दिइएको अथवा ईच्छ्याइएको विषयमा आउन बाधा निवारणको लागि गुरुगणपति एवं हनुमानदेवको साथमा माँ इन्द्रायणीको स्तुति आराधना गर्नु गर्नु शुभदायक हुनेछ  ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक देखिएको छ । पेशा तथा कार्यक्षेत्रमा व्यस्तता बढ्ने र धन–सम्पत्तिको सञ्चय हुनजाने छ । केही मनोकामना पूरा हुनेछन् । घर परिवार वा कूलभित्र माङ्गलिक कार्य सम्पादन हुनसक्ने एवम् नातासम्बन्ध तथा संपर्क बढ्ने सम्भावना देखिएको छ । सांसारिक पुरुषार्थ हुनेहुनाले सन्तोष एवम् उत्साहकर दिन परेको छ, समयको सदुपयोग गर्नुहोला । आज यहाँको वाणीमा माधुर्यताको प्रभाव बढ्ने योग परेकोले गायक, प्रवचक आदि वाकवृति हुनेहरुको लागि दिन विशेष अनुकूलप्रद रहनसक्ने छ । अन्यक्षेत्रका व्यक्तित्त्वहरुको लागि पनि लाभ एवम् सफलता नै मिल्ने छ । 
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले दीर्घरोगीले बढी होसियारी रहनु पर्ने र आहारविहारमा ख्याल पुर्याउनु उपयुक्त हुनेछ । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्न सक्छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नु बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ रहनेछ भने बाधाबिघ्न निवारणको लागि भगवाना हनुमानको सेवा श्रद्धा गर्नु गराउनु हितकर हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृतिको चाहना बढ्ने ग्रहगोचर परेको छ । तथापि कपटी विपरितलिङ्गीसँग सावधान रहनुपर्ने छ । लहैलहैमा अस्वस्थकर आहार विहारको परिस्थितिमा पर्नसकिने सम्भावनालाई पनि नकार्न सकिन्न, ख्याल पुर्याउनु पर्ला । केही अबरोधको बाबजुत पनि व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । यात्राको पनि योग देखिएको छ । विवाहयोग्य युवायुवतीको लागि विवाहको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने सूर्यदेवको स्तुति गर्नाले प्रतिकूल ग्रहको अबरोधलाई हटाउन मद्दत गर्नेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ तथापि गन्तव्यचुम्न संघर्ष देखिएको छ । आँट तथा फुर्ति अल्लि ठूलो हुने तर गरी पुर्याउन ग्रहको अबरोध हुने सम्भावना छ । जसको निवारणको लागि गुरु गणपतिलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । जसको कारण शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । आज यहाँलाई छ अंक, हरियो रङ्ग र कुमारी देवीको दर्शनभक्ति फापकर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन दिन त अनुकूलै छ तथापि आफ्नै मनोआशक्तिको कारणले हुनपर्ने जति फाइदा लिन अल्लि गाह्रो देखिन्छ । आत्मप्रशंसाको चाहना तथा प्रमातको भावनाले तपाईँको कमजोरीको वास्तविकता उदाङ्गिन सक्नेछ ।  सैद्धान्तिक कट्टरताको पक्ष बलियो रहेपनि विद्वदताको फुर्ति र निरर्थक प्रयासमात्र हुनसक्ने सम्भावना छ । घमण्डले मानसिक पछुतो पर्नसक्ने छ, ख्याल पुर्याउनु होला । आज तपाईँलाई पाँच अङ्क, रातो रङ्गको उपयोग र भैरवदेवको सेवाआराधना गर्नु उपयुक्त हुनेछ । कुकुरलाई खुवाउनाले पनि ग्रहको दुस्प्रभाव निवारण हुनसकने छ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । महत्त्वपूर्ण कार्यमा बाधाब्यावधान आइलाग्ने सम्भावना देखिएको छ । विचारमा संकिर्णताले प्रसय पाउनसक्ने र सहकर्मी, मित्रवर्ग, छिमेकी कसैसँग ख्यालख्यालमै पनि मनमुटाव पर्नसक्ने छ विचार पुर्याउनु होला । ग्रहको प्रतिकूलतालाई बुझेर धैर्य गर्नसक्नु भएमा क्रमशः सम्भावित अनिष्ट टरेर जानेछ भने केही संघर्षबाट अत्याबश्यक काम बनाउन सकिनेछ । आज यहाँको लागि सेतो रङ्ग र चार अंकको प्रयोग गर्नु एवं मातृशक्तिको आर्शिवाद लिनु उपयुक्त हुनेछ । 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति र जोशजाँगर बढेर आउने एवम् काममा रुचि बढ्ने हुनाले रोकिएर रहेको महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ । मान्छेहरुबाट प्रशंसा पाइने र मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने एवम्उत्साह तथा उमङ्ग बढ्नेछ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । व्यवसाय तथा पेशागत कर्मक्षेत्रबाट आफ्नो हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ । 
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक लिनसकिन्छ । तथापि मुख्य भनिएको काम प्रभावित हुनसक्ने गोचर स्थिति छ तसर्थ काम हुनुपूर्व फुर्ति नगरेकै उचित हुनेछ । अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा माङ्गलिक शुभकार्य सम्पादन हुने वा प्रसङ्ग चल्नसक्ने छ तथा नयाँ कुटुम्बिक सम्बन्ध विस्तार हुनसक्ने सम्भावना देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई केही आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने तथा उत्साह बढ्ने दिन छ । ग्रह अबरोधलाई न्यूनिकरण गर्न भगवान श्री हनुमानवीरको स्तुति गर्नु उपयुक्त हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । विवाह योग्य युवायुवतीको लागि वैवाहिक सम्बन्ध जोड्ने प्रसङ्ग चल्नसक्ने छ । समयको सदुपयोग गर्नुहोला । 
मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अनपेक्षित रुपमा विभिन्न खालका अपजशको सामना गर्नपर्नसक्छ । एकाएक खर्चमा बृद्धि हुने र गर्जोटार्न धौधौपर्ने तथा नहुनेकाममा मनजाने सम्भावना छ । अगाडि सारिएको काममा बाधाबिघ्नता आयो भन्दैमा हतास भइहाल्न भने परिहाल्दैन, संघर्ष एवम् अधिक परिश्रमले अपेक्षा गरिएको क्षेत्रमा थोरैलाभ हुनसक्ने छ । बरु नसोँचिएको काम बन्ने र आकस्मिक रुपमा केही अर्थोपार्जन हुने तथा साथ सहयोग पनि मिल्नेछ । मठमन्दिरको दर्शन, तीर्थको यात्रा एवम् मान्यजन भेट्घाट आदिमा खर्चको सदुपयोग गर्नु उपयुक्त हुनेछ । भैरवदेवको दर्शन भक्ति उत्तम हुनेछ ।
ज्योतिषी दिपक सुवेदी द्बारा प्रस्तुत राशिफल

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने