दशैकै बेला हात गुमाएका मदन भन्छन्, ‘दसैँ नआए पनि हुन्थ्यो’

असोज ११, २०७४,झापा ।।
झापा दमकका ३३ वर्षका मदन बोहोरालाई २०७२ सालदेखि दसैँ आएको छैन। उनलाई दसैँ कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ।  दसैँकै समयमा सबैलाई उज्यालोमा राख्न खोज्दा आफू अँध्यारोमा पर्नुपरेको पीडा छ उनीसँग। २०७२ सालको दसैँको अष्टमीका दिन आफ्नो दायाँ हात गुमाउनुको पीडा अझै भुल्न सकेका छैनन् उनले।
 दमक– ३ स्थित बाघखोर चोकमा सडक बत्ती जडान गर्ने क्रममा उनले आफ्नो दायाँ हात गुमाए।  उनले इलेक्ट्रिसियनको एक लेभलको तालिम लिएका थिए। त्यसैले उनलाई स्थानीयले सडक बत्ती बिग्रिएकाले बनाइदिन आग्रह गरे। कात्तिक २ गते अष्टमीका दिन बिजुलीको पोलमा चढे। उनले सडक बत्ती जडान गरेर झलल बल्ने बताए। ‘त्यो दिनदेखि मेरो दुःख सुरु भयो। त्यही दिन थियो मेरो कालो दिन। बत्ती त राम्ररी बल्ने बनाएँ’, उनी यसरी सम्झन्छन् त्यो कालो दिन, ‘पोलबाट झर्दै थिएँ, कसोकसो गर्दा ११ हजार भोल्टको हाइटेन्सन करेन्ट मेरो शरीरमा लाग्यो, त्यसपछि म बेहोस भएँ।
 केही थाहा पाइनँ। मैले थाहा पाउँदा म घोपामा अस्पतालको बेडमा थिएँ।’  उनलाई आफू बाँच्छु जस्तो लागेको थिएन रे! ‘म त अपवादको रूपमा मात्र बाँचेको हुँ, धन्न ज्यानचाहिँ बच्यो, एउटा हातै गयो’, भन्छन्, ‘मैले यसरी करेन्ट लागेकाहरू बाँचेको पनि सुनेको छैन।’ उनका लागि दसैँ त नआए पनि हुने बताउँछन्। ‘मेरा लागि दसैँ त नआए पनि हुने। दसैँ आउनासाथ यही घटनाको याद आउँछ’, उनी भन्छन्, ‘जन्मँदा सांग मान्छे पछि आएर अपांग बन्नुपर्दाको पीडा त मलाई मात्र थाहा छ।’ उनको उपचारमा करिब १६ लाख रुपैयाँ सकियो।
 विभिन्न संघसंस्थाले नौ लाख रुपैयाँजति सहयोग गरे। तर अझै उनीसँग आठ लाख रुपैयाँभन्दा धेरै ऋण छ। एउटा हात पनि गुम्यो, ऋण पनि उस्तै छ, अब कसरी कमाएर तिर्ने?’, उनी भन्छन्, ‘चार जनाको परिवार चलाउन मुस्किल छ। सबैभन्दा ठूलो समस्या त छोराछोरी पढाउन र उनीहरूको आवश्यकता पूरा गर्न छ।’

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै