तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने तयारी

भदौ १५, काठमाडौं ।।
 सरकारले आगामी वर्षदेखि तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने तयारी गरेको छ। जलमापक उपकरणमार्फत पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गएपछि सरकारले वर्षामापक उपकरण राख्ने योजना अगाडि सारेको हो। उपकरण राखेमा बाढी आउनुभन्दा तीन दिनअघि नै सर्वसाधारणलाई सूचना दिन सकिने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए।'

 ‘यस्तो खालको पूर्वसूचनाबाट मानवीयसँगै भौतिक क्षति कम गर्न सक्छौँ,’ उनले भने। सरकारले अहिलेसम्म आठ नदी तथा खोलामा वर्षामापक उपकरण राखेको छ। अर्को वर्ष मानवीयसँगै भौतिक क्षति गर्ने थप खोला र नदीको पहिचान गरी उपकरण राख्ने तयारी गरिएको छ। चुरेसँगै तराई क्षेत्रबाट बग्ने खहरे खोलाले पनि ठूलो भौतिकसँगै मानवीय क्षति गर्दै आएको छ। चुरे क्षेत्र दोहन हुँदै गएपछि बाढी आउने गरेको विज्ञहरू बताउँछन्। प्रकृतिलाई ख्याल नगरी विकास निर्माण गर्न थालेपछि तराईका खोला र नदीको सतह पनि माथि आएको छ। यस वर्ष बाढी, पहिरो र डुबानबाट एक सय ५३ जनाको मृत्यु भएको छ। ३० बेपत्ता र ४२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

 एउटा उपकरणलाई दुई लाख पर्ने

 एउटा उपकरणलाई साधारणतया दुई लाख पर्ने पराजुलीले बताए। एउटा नदी वा खोलामा एउटा मात्र वर्षामापक उपकरण राख्न सकिन्छ। ‘जलमापक उपकरणमार्फत मास एसएमएस पठाउँदा कम मानवीय क्षति भएको छ,’ पराजुलीले भने। सर्वसाधारणले बुझ्ने गरी रोमनमा सन्देश लेखेर पठाइने हाइड्रोलोजिस्ट पराजुलीले जानकारी दिए। मनसुन सुरु भएपछि बाढीले प्रभावित पार्न सक्ने क्षेत्रका सर्वसाधारणलाई ‘बाढी आउन सक्छ’ भन्ने सन्देश पठाइन्छ। बाढीको उच्च जोखिम भएका नदीमा खतराको चिह्न राखिएको छ। सोही चिह्नभन्दा माथि पानी गएको अवस्थामा त्यहाँका स्थानीयलाई सुरक्षित (अग्लो) स्थानतर्फ जान सुझाब दिइन्छ। पानीका मात्रा घट्दै गएपछि सबैलाई आ–आफ्नो वासस्थानतर्फ जान सुझाब दिइन्छ।

उपकरण भएका नदी 

विभागले महाकाली, कर्णाली, पश्चिमराप्ती, बबई, नारायणी, पूर्वराप्ती, रिउखोला, बागमती, कोसी, कन्काई नदीमा उपकरण राखेको छ। यी नदीका जलाधारमा पानी धेरै परेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई एमएमएस पठाइन्छ। यस वर्षको मनसुनमा अहिलेसम्म ७० लाखभन्दा धेरैलाई बाढीको पूर्वसूचना ‘एसएमएस’ पठाएको विभागले जनाएको छ।

 यसरी सूचना पाइन्छ

नेपाल टेलिकम र एनसेलसँग प्राविधिक रूपमा सम्झौता गरिएको छ। सम्झौताबमोजिम मास एसएमएस पठाउने गरिन्छ। तराईमा जनधनको क्षति भएपछि सर्वसाधारणलाई एसएमएसबाट पूर्वजानकारी दिन थालिएको हो। यसअघि बाढीले धेरै क्षति पुर्याउन सक्ने नदीमा मात्र खतराको घन्टी बज्ने (साइरन) व्यवस्था गरिएको थियो। सर्वसाधारणका लागि निःशुल्क टोल फ्री ११५५ नम्बरको व्यवस्था गरिएको थियो। मास एसएमएस सर्वसाधारणसँगै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पनि पठाइन्छ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै