प्रदेश नम्बर २ को निर्वाचन: राजपा आउँदा माहोल तात्यो
भदौ १३, बिरगंज ।। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि सहभागी हुने भएपछि प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको माहोल तातेको छ। एक सय ३६ स्थानीय तहमा हुने तेस्रो चरणको निर्वाचनलाई आआफ्नो पक्षमा पार्न राजनीतिक दलहरू प्रदेश २ मा केन्द्रित भइसकेका छन्।
कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपालगायत दलका केन्द्रीय नेता सप्तरीबाट पर्सासम्मका आठ जिल्लामा खटिएका छन्। निर्वाचन प्रचारसँगै दलहरू उम्मेदवार छनोटमा लागेका छन्।
एमालेलाई पछि पार्न कांग्रेसले यो निर्वाचनलाई ‘जीवन-मरण'का रूपमा लिएको छ। कांग्रेस यसअघिका दुई चरणको निर्वाचनमा एमालेभन्दा ५० सिटले पछि छ। कांग्रेस कम्तीमा एक सय पाँच तह जितेर पहिलो बन्ने दाउमा देखिएको छ। त्यसका लागि आठ जिल्लाका आठ मुख्य सहरमा कांग्रेसले सभा गर्ने भएको छ । आठै सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताए। यही भदौ १५ भित्र उम्मेदवार घोषणा गर्ने तयारी रहेको मन्त्री मन्सुरले सुनाए।
‘अधिकांश तहमा उम्म्मेदवारको टुंगो लागेको छ', उनले भने, ‘केही स्थानमा आकांक्षी धेरै भएकाले मिलाउने प्रयास भइरहेको छ।' एक सय पाँचभन्दा बढी तहमा जित हात पार्ने दाबी उनले गरे।
संघीय समाजवादी फोरमले निर्वाचन गतिविधि तीव्र पारेको छ। उसले प्रायः तहमा मुख्य पदका उम्मेदवारको टुंगो लगाइसकेको छ। केहीमा आकांक्षी धेरै भएकाले छलफल गरेर टुंगो लगाउने प्रयास भइरहेको मधेस प्रदेश सचिव सलाउद्दिन अहमदले जानकारी दिए। कम्तीमा ६५ सिट जित्ने रणनीति बनाएको उनले सुनाए।
यही भदौ ७ गते मात्र निर्वाचनमा भाग लिने निर्णय गरेको राजपा पनि तयारीमा लागेको छ। राजपाले उम्मेदवार छनोटका लागि आठै जिल्लामा यही भदौ ९ गतेदेखि केन्द्रीय पर्यवेक्षक खटाएको छ। पर्यवेक्षकले काठमाडौं फर्किएर प्रतिवेदन बुझाएपछि भदौ १५ गतेसम्ममा उम्मेदवारको नाम सार्वजनिक गर्ने राजपाका महासचिव मनीषकुमार सुमनले जानकारी दिए।
‘हामीले भदौ ७ गते मात्र निर्वाचनमा भाग लिने निर्णय गरेका हौं। त्यसैले हामीलाई निर्वाचनको चटारो छ', महासचिव सुमनले भने, ‘अहिले घोषणापत्रको मस्यौदा तयार पार्ने काम पनि भइरहेको छ।'
राजपा प्रदेश नम्बर २ को सबैभन्दा ठूलो दल बन्ने दाबी उनले गरे। ‘यति वा उतिभन्दा पनि आसन्न निर्वाचनमा राजपाले सबैभन्दा बढी सिट जित्ने निश्चित नै छ', उनले भने, ‘अहिलेसम्म पनि मधेस मुद्दा बोकेर हिँड्ने एक मात्र दल राजपा नै हो। त्यसैले प्रदेश नम्बर २ मा राजपा नै पहिलो पार्टी बन्छ ।'
एमाले पनि जोडतोडका साथ निर्वाचनमा लागेको छ। प्रदेश नम्बर २ मा ६० देखि ६५ सिट जित्ने दाबी एमालेले गरेको छ । ‘हाम्रो लक्ष्य भनेको कम्तीमा पनि ६० देखि ६५ सिट जित्ने हो', एमालेको प्रदेश नम्बर २ का सहसंयोजक एवं सांसद नागेन्द्र चौधरीले भने, ‘यसका लागि पार्टीले विशेष रणनीति बनाएर काम गरिरहेको छ।'
एमाले पनि जोडतोडका साथ निर्वाचनमा लागेको छ। प्रदेश नम्बर २ मा ६० देखि ६५ सिट जित्ने दाबी एमालेले गरेको छ । ‘हाम्रो लक्ष्य भनेको कम्तीमा पनि ६० देखि ६५ सिट जित्ने हो', एमालेको प्रदेश नम्बर २ का सहसंयोजक एवं सांसद नागेन्द्र चौधरीले भने, ‘यसका लागि पार्टीले विशेष रणनीति बनाएर काम गरिरहेको छ।'
एमालेलाई मधेसविरोधी दल भनेर भ्रम फैलाए पनि मधेसका बासिन्दा भ्रममा नपरेको र विगतमा एमाले छाडेर गएका स्थानीय नेता÷कार्यकर्ता फर्किसकेको पर्सा एमालेका युवा नेता मनोज चौधरीले दाबी गरे। ‘केही देशी-विदेशी तŒवले मधेसको निर्वाचनमा एमालेले उम्मेदवार नै पाउँदैन भन्नेसम्मका अफवाह फैलाएका थिए', उनले भने, ‘तर, अहिले एमालेमा उम्मेदवारका आकांक्षी यति धेरै देखिएका छन् कि पार्टी नेतृत्वलाई मिलाउनै गाह्रो भइरहेको छ।'
माओवादी केन्द्रले पनि निर्वाचनको तयारीलाई तीव्र पारेको छ। पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा बेहोर्नुपरेको हारको क्षति यो निर्वाचनबाट पूर्ति गर्ने योजनामा छ, माओवादी।
कुन दलको दाबी कति ?
कांग्रेस १०५
एमाले ६०-६५
संघीय फोरम ६५
साभार:- अन्नपूर्ण पोस्ट
कांग्रेस १०५
एमाले ६०-६५
संघीय फोरम ६५
साभार:- अन्नपूर्ण पोस्ट

Comments
Post a Comment