महाकाली अञ्चल अस्पतालमा आधुनिक उपकरण खरिद

कञ्चनपुर, १६ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले सेवा गुणस्तरीय बनाउन विभिन्न उपकरण खरिद गरि जडानको कार्य शुरु गरेको छ। 

अस्पताललाई आधुनिकीकरण गरी सेवालाई छिटोछरितो र विश्वसनीय बनाउका लागि एक करोड १० लाखको लागतमा उपकरण खरिद गरी जडान कार्य शुरु गरिएको हो । डिजिटल एक्सरे, सी आर्म, फुटलर काउन्टर मेसिन, डेन्टल सेट अफ चेयर लगायतका दुई दर्जन उपकरण जडानको कार्य भइरहेको अस्पताल विकास समितिका अध्यक्ष भोजराज बोहराले बताए ।  ‘केही मेसिन जडानको कार्य पूरा भएको छ’, उनले भने, ‘केही मेसिन जडान गर्दैछौं।’ 

अस्पताललाई आवश्यक उपकरणको अभावमा सेवा सञ्चालनमा कठिनाइ रहेको उल्लेख गर्दै अध्यक्ष बोहराले उपकरण जडानपछि अस्पतालले दिने सेवासुविधामा सहजता आउने बताए । उपकरण जडान गरिए पनि सघन उपचार कक्षको सेवा भने सेवाग्राहीले पूर्ण रुपमा पाउन सकेका छैनन् । विशेषज्ञ चिकित्सक र सघन कक्ष सञ्चालन गर्ने जनशक्तिको अभावमा सघन कक्षको सेवा प्रभावकारी रुपमा दिन नसकेको अध्यक्ष बोहराको भनाइ रहेको छ । 

सघन कक्ष सञ्चालनका लागि एक फिजिसियन चिकित्सक, चार मेडिकल अफिसर र छजना दक्ष तालिम प्राप्त नर्स लगायतका जनशक्ति आवश्यक रहेको उनले बताए । २० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको महाकाली अञ्चल अस्पतालमा अहिले तीनजना चिकित्सकले मात्र सेवा दिइरहेका छन । रासस 

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै