नयाँ शक्तिका सबै दलित केन्द्रीय सदस्यद्धारा राजीनामा, हेर्नुस् विज्ञप्ति
साउन १५, काठमाडौं ।। नयाँ शक्ति नेपालका दलित नेताहरुले सामूहिक रुपमा राजीनामा दिएपछि संयोजक बाबुराम भट्टराईमाथि अर्को धक्का परेको छ । नयाँ शक्ति सम्बद्ध दलित शक्ति नेपालका संयोजकसहित जिम्मेवार नेताहरुले राजीनामा दिएका छन् । नयाँ शक्तिले दलित समुदायको हितका लागि कुनै काम गर्न नसकेको आरोप लगाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।
‘दलित समुदायको सार्थक सहभागिता, प्रतिनिधित्व र उनीहरुको राजनीतिक ब्यबस्थापन हुन नसक्दा नयाँ शक्ति नेपाल पनि पुरानै सामन्ती प्रवृत्तिबाट अछुतो रहन सकेन’– विज्ञप्तिमा भनिएको छ– ‘नयाँ शक्ति पनि पुरानै सामन्ती शैलीमा हिडेको, राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण र दलित समुदायका सवालहरु ओझेलमा पर्ने देखिएको हामीले आफ्ना पदबाट सामूहिक राजीनामा दिएका छौं ।
यसरी नयाँ शक्ति पार्टी नेपालको सबै जिम्मेवारीबाट सामुहिक राजिनामा दिनेहरुमा दलित शक्ति नेपाल केन्द्रीय समिति संयोजक सुशीला शेर्पाली, संगठन विभाग प्रमुख दिपेन्द्र बि क, केन्द्रीय प्रवक्ता दलमर्दन कामी, प्रचार विभाग प्रमुख गणेश बि क, केन्द्रीय कार्यालय सचिव महेन्द्र सुनार रहेका छन् । उनीहरु सबै नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य हुन् ।
नयाँ शक्ति छाडेका नेताहरुले विज्ञप्तिमा केही नखुलाए पनि ध्रुवीकरणका लागि नेकपा माओवादी केन्दसँग छलफल चलिरहेको छ । यसघि नयाँ शक्ति सम्बद्ध विद्यार्थी संगठनका ५९ जना केन्द्रीय नेताहरु नयाँ शक्ति छाडेर नेकपा माओवादी केन्द्रमा फर्केका थिए ।
Comments
Post a Comment