‘विद्यालय शिक्षा ऐन २०८०’को विरोध कायमै, यी हुन असहमतिका विषयहरु

काठमाडौँ /लामो रस्साकस्सीका बीच बुधबार ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयक संसद्मा दर्ता भयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसद्मा विधेयक दर्ता गराएको सार्वजनिक भएपछि यसको विरोध सुरू भएको छ । 
विशेष गरी शिक्षक संघ संगठनहरू कडा रूपमा प्रस्तुत हुन थालेका छन् । नेपाल शिक्षक महासंघले त विद्यालय बन्द गर्दै काठमाडौंकेन्द्रीत आन्दोलनको चेतावनी दिइसकेको छ ।   यसअघि मन्त्रिपरिषद्बाट पास भएको विधेयकप्रति चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले पुनः मन्त्रिपरिषद्कै विधायन समितिमा पेश गरेको थियो । उक्त समितिमा छलफलपछि मन्त्रिपरिषद्मा पेश गरिएको थियो । मन्त्रिपरिषद् बैठकले पारित गर्दै मन्त्रालयले संसद्मा दर्ता गराएको हो । 
विरोध आएपछि विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा व्यापक संशोधन गरिएको थियो । यस क्रममा विभिन्न ७५ वटा दफाको ८४ उपदफा संशोधन गरिएको छ । जसमा प्रत्योजित व्यवस्थापनको कारण, प्रत्योजित व्यवस्थापनअन्तर्गत बनाइने कानूनको प्रकृति र सीमा तथा प्रत्योजित व्यवस्थापनबाट पर्न सक्ने प्रभावहरूसमेत उल्लेख गरिएको थियो । 
तर, शिक्षक संगठनहरूले चर्को रूपमा विरोध थालेका छन् । राहत शिक्षकहरूले सरकारले विगतमा आफूहरूसँग गरेको सम्झौताअनुसार ऐन आउन नसकेको बताएका छन् । 
  नेपाल राहत शिक्षक केन्द्रीय समितिले वर्षौदेखि राहत कोटामार्फत् पठनपाठन गराउँदै आएका शिक्षकहरूलाई रित्तो हात घर पठाउने गरी ऐन ल्याउन खोजिएको जनाएको छ । समितिका अध्यक्ष खेमराज अधिकारीले ५० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट मात्रै राहत शिक्षकहरूलाई स्थायी गराउने गरी ऐन आउनु दुःखद भएको बताए । 
   ४० हजार शिक्षकहरूले नै आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने र परीक्षा पास हुन नसक्नेलाई मात्र गोल्डेन हेण्डसेक दिनुपर्ने समितिको माग छ । 
त्यस्तै, विद्यालय कर्मचारीहरूले समेत ऐनमा आंशिक विरोध जनाएका छन् । धेरैजसो माग सम्बोधन हुने गरी समेटिएको तर केही विषयमा आपत्ति रहेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । उनले विधेयक अझै संशोधन गर्नुपर्ने माग गरे । 
उता, नेपाल शिक्षक महासंघले शिक्षक, कर्मचारीहरूले उठान गरेका कतिपय माग सम्बोधन नगरिएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुबेदीका अनुसार महासंघले यसअघि नै मस्यौदा सार्वजनिक भएपछि संशोधन गर्नुपर्ने बुँदा सरकारलाई बुझाएको थियो । तर, अहिलेको विधेयकमा ती आंशिक रूपमा मात्र सम्बोधन गरिएको छ । 
यी हुन् महासंघको असहमतिको विषय  
अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वको सवालमा सरकार र महासंघबीच सहमति भएको थियो । त्यही आधारमा ऐनमा समावेश हुनुपर्ने महासंघको माग छ । 
त्यस्तै, ऐनमा नै महासंघ शिक्षक कर्मचारीको पक्षमा काम गर्ने संस्थाको रूपमा चिनाएको छ । तर, शिक्षक कर्मचारीहरूलाई भने ट्रेड युनियनको अधिकारबाट वञ्चित गराएको छ । महासंघले त्यसमा समेत आपत्ति जनाएको हो । 
‘संविधानको धारा ३४ (३) अनुसार ट्रेड युनियनको अधिकार दिएको छ । तर, अहिलेको ऐनले सामूहिक सौदाबाजी गर्ने अधिकारमाथि निषेध गर्न खोजेको छ । ट्रेड युनियनको अधिकार हनन गर्न खोजिएको छ ।’ महासचिव सुुवेदीले भने ।
२०६०-०६१ सालतिर स्थायी भएका शिक्षकहरू अहिलेसम्म एक तह पनि बढुवा नभई अहिलेसम्म तृतीय श्रेणीमै छन् । ती शिक्षकहरूको हकमा आवधिक बढुवा गर्नुपर्ने माग गरेको छ । 
त्यस्तै, अहिलेको विधेयकमा बालकक्षालाई विद्यालय संरचनाभन्दा बाहिर राखिएको छ । महसंघले यसमा समेत आपत्ति जनाएको छ । विद्यालयको आधारभूत फाउण्डेशनको रूपमा रहेको संरचनालाई बाहिर राख्न नहसने आफूहरूको माग रहेको सुवेदीले बताए । 
विद्यालय कर्मचारीको सवालमा समेत सम्झौताअनुसार दरबन्दी सिर्जना गरेर स्थायी गराउने सहमति भएको थियो । तर, अहिले ऐनमा स्थानीय तहलाई पुरै जिम्मेवारी दिने गरी आएको र यसमा आफूहरूको विमति रहेको उनको भनाई छ । 
विद्यालय व्यवस्थापन समितिकोे संरचनामा पनि महासंघको विमति छ । ‘पहिलाको तुलनामा अहिले अलिकति सुधार भएर आएको छ । अध्यक्षता अभिभावकको हुने भनिएको छ । तर, हामीले जो विद्यार्थी पढ्छन्, तिनको अभिभावकको बाहुल्यता हुनुपर्छ भनेर उठान गरेका थियौं । त्यो आएको छैन ।’ उनले भने ।  
महासंघको गम्भीर आपत्तिको विषय भनेको शिक्षकलाई सेवाबाट बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई दिइएकोमा हो । 
‘अहिले पालिकामा राजनीतिक पूर्वाग्राहको आधारमा शिक्षकहरू हटाउने, सरूवा गर्ने काम भइरहेको छ । अदालत जानुपर्ने अवस्था छ । त्यस्तो कार्यको ज्वलन्त उदाहरण देख्दा देख्दै सबै अधिकार त्यहाँ दिएपछि कुनै पनि शिक्षकको अधिकार रक्षा हुने अवस्था छैन ।’ महासचिव सुुवेदीले भने । 
पहिलेको ऐनले शिक्षकको नियुक्ति जिल्ला शिक्षा कार्यालयले गर्ने गरेको थियो भने बर्खास्त क्षेत्रीय शिक्षा निर्देशनालयले गर्ने गरेको थियो । तर, अहिले पुरानो शैलीभन्दा पनि फरक ढंगले गर्न खोजिएको र यसले स्वाभिमानी मान्छेले शिक्षण पेशामा भविष्य नदेख्ने अवस्था आउने उनको भनाई छ । स्थानीय पालिकाले अनुगमन गर्ने, समन्वय गर्ने काम गर्नु ठिक हो तर कारवाही गर्ने अधिकार जिल्ला र प्रदेशको हुनुपर्छ भन्ने उनको भनाई छ । 
प्रधानाध्यापक नियुक्तिको विषयमा समेत सम्बोधन हुन नसकेको उनको जिकिर छ । अहिलेको विधेयकमा जिल्लाको तीन जनाको समिति बनाएर प्रधानाध्यापक नियुक्त गर्ने भन्ने छ । तर, आफूहरूले निष्पक्षताका लागि योग्यता प्राप्त शिक्षकबाट शिक्षक सेवा आयोगमार्फत् परीक्षा लिएर प्रधानाध्यापकको नियुक्ति गरिनुपर्ने माग राखेको बताए । यस्तो गरिए स्थानीय तहको अन्याय नहुने उनको बुझाई छ । 
त्यस्तै, स्थायी भएकोलाई ५ वर्षसम्म सरूवा नहुनेलाई अहिले तीन वर्ष बनाइएको तर एक वर्ष पुरा गरेपछि सरूवा हुनुपर्ने आफूहरूको माग रहेको बताए ।  
उता, २०७५ चैतपछि स्थायी भएका शिक्षकहरूले पेन्सन नपाउने भन्ने व्यवस्था विधेयकमा छ । ‘निजामतीले २०७५ साउनसम्म पेन्सन पाउने भन्ने कुरा भएको छ । अनि शिक्षकले नपाउने भन्ने हुन्छ ?’ महासचिव सुुवेदीले भने, ‘हामीले ऐन आएर व्यवस्थित नहुँदासम्म पुरानै प्रणालीबाट सबै शिक्षकलाई पेन्सन पाउनुपर्छ भनेका छौं ।’  

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै