शोकलाई शक्तिमा बदल्दै आफ्नो काँधमा आएको राष्ट्र निर्माणको अभियानमा दृढतापुर्वक होमिएकी छु: विना मगर
यहि मंसिर ३ गते पतिशोकमा परेकी नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नम्बर १ मा पर्ने बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाका ३२ वटा वडा गरी कुल ८८ हजार मतदाता रहेको क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दहाल प्रचण्डका पुत्र स्व. साकार दहाल (प्रकाश)की पत्नी विना मगरसंगको एक अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।
२०४० सालमा पुनर्वास मै जन्मिएकी उनको राजनैतिक यात्रा ११ बर्षको उमेरमा कक्षा ५ मा पढ्दै देखि २०५१ सालमा माओवादी जनयुद्ध तयारी चरणको अभियान चालिरहँदा कञ्चनपुरमा भएको माओवादी साँस्कृतिक कार्यक्रममा जन बाल कलाकारको रुपमा कार्यक्रममा सहभागी भए देखि माओवादीसंग आवद्ध भएकी विना मगर विद्यार्थी संघठन, अखिल क्रान्तिकारी हुँदै अखिल नेपाल महिला संघ क्रान्तिकारीको स्थापन जिल्ला अध्यक्ष सम्म भइन । २०६० सालमा २० बर्षको कलिलो उमेरमा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा २७ महिनाको बन्दी जीवनबाट बिताउनु पर्यो । अति कष्टकर यातना सहितको २७ महिनाको बन्दी जीवनमा पार्टी र परिवारले उनी ज्युँदो भएको आशा समेत मारिसकिएको थियो । अहिले प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा आफुलाई उभ्याएर चुनावी अभियानमा होमिएका बेला पतिशोकमा परिन, र पनि देशको जिम्मेवारीलाई पारिवारिक पीडा भन्दा माथी उठाएर हाल चुनावी मैदानमा उत्रिएकी उनै विनासंग हाम्रै साझा पत्रिकाका सम्पादक हेमन्त न्यौपानेले लिनुभएको अन्तर्वार्ताको सारसंक्षेप प्रस्तुत गरेका छौं ।
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
हाम्रै साझा पत्रिकामा यहाँलाई स्वागत छ ।
@धन्यवाद!
पतिशोकमा हुनुहुन्छ । यहाँलाई हार्दिक समवेदना प्रकट गर्न चाहान्छु । शोकाकुल घडीमा तपाईं बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । कस्तो छ गठबन्धनको तयारी ?
@ धन्यवाद ! शोकलाई शक्तिमा बदल्दै आफ्नो काँधमा आएको राष्ट्र निर्माणको अभियानमा दृढतापुर्वक मा होमिएकी छु । यस शोकाकुल घडीमा समवेदना प्रकट गर्नुहुने सबै प्रति कृतज्ञ छ । सबै भन्दा पहिला त हामी बाम गठबन्धनका संयुक्त चुनाव परिचालन समितिबाट क्षेत्र, जिल्ला, प्रदेश हुँदै वडा सम्म चुनाव परिचालन समिति निर्माण गरेर निर्वाचन प्रचारप्रसार समिति चरिचालन गरेका छौं । र अर्को म आफैंपनि चुनावी घरदैलो कार्यक्रममा लागिसकेको छु ।
स्थानीय तह निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ का सबै स्थानीयतहमा एमाले र माओवादीले नै जित निकालेको छ । के यो मत तपाईंलाई पनि आउला? के छ आधार?
@ पहिलोकुरो मेरो निर्वाचन क्षेत्रको बारेमा भन्नुपर्दा यस क्षेत्रलाई कम्युनिष्ट विचारधारामा आस्था राख्नेहरुको आधारथलोका रुपमा मुल्यांकन गरेका छौं । त्यसैले नै होला स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ का बाम उम्मेदवारहरुले नै जित निकाल्नु भएको छ । अनि अर्को कुरा मुख्यतह यहाँ दुई किसिमका भोटरहरु यहाँ हुनुहुन्छ । एक कम्युनिष्ट विचारधारामा आस्था राख्ने र अर्को कम्युनिष्ट विचारधारा नबोक्ने भएपनी मन पराउने । उहाँहरुको भोट बाम गठबन्धनलाई आउनेमा हामी विश्वस्त छौं । मुख्य त उत्पीडिन, सर्वहारा वर्गको हकहितका निम्ति गरिववर्गका हकहितका निम्ति, विकास निर्माणका निम्ति जुन सोच हामीले बनाएका छौं । त्यसका निम्ति जनताले बाम गठबन्धनलाई साथ दिन्छौं भनेर प्रतिबद्धता समेत गर्नुभएको छ । बाम गठबन्धन आजको चुनावी तालमेल मात्र नभएर बाम एकताको कुरो हो । नेपालमा नेपाली कम्युनिष्ट पार्टीहरुको हिजो देखिको टुटफुट र विभाजन भयो । जसरी कम्युनिष्ट पार्टीहरु इतिहास गुज्रिएको थियो । अब भने त्यसो नभईकन समाजवादमा देशलाई अघि बढाउन बाम गठबन्धनले एकताको तयारी सबै स्तरमा गरिरहेको छ । यो सामान्य उद्देश्यका साथ भएको होइन । म कञ्चनपुरकी छोरी भएका कारण पनि जनताको माया, समर्थन र प्रतिबद्धता पाईरहेकी छु । मलाई लगायत बाम गठबन्धनलाई मत आउनेमा हामी विश्वस्त छौं । अर्कोकुरा कम्युनिष्ट विचारधारामा आस्था राख्नेहरु, कम्युनिष्ट शुभेच्छुक र मेरो शुभचिन्तकहरुमा मलाई कुनै शंका छैन ।
यस क्षेत्रमा बाम गठबन्धनको गाँठो कत्तिको बलियो भएको महसुस गर्नुभएको छ?
@ पक्कैपनी, प्रमुख त यस गाँठोलाई हामीले कत्तिको बलियो बाउने भन्ने नै हो । यहाँ मात्र होइन देशकै सवालमा बाम गठबन्धन राष्ट्रको हितका निम्ति भएको हो । हामीले भन्दै आईरहेका छौं यो चुनावी तालमेल मात्र होइन पार्टी एकता हुँदैछ । यसमा कुनै शंका छैन । हामीले हाम्रा कार्यकर्ता माझ यस गठबन्धनका औचित्यहरु पुष्टि गर्न सक्यौं भने त्यही औचित्य त्यही पुष्टि र त्यही परिभाषाका आधारमा गाँठो बलियो हुने हो । अहिले जिल्लामा पार्टी एकता सुझाव समितिका अध्यक्षमा एमालेबाट जिल्ला अध्यक्ष तारा लामा तामाङ हुनुहुन्छ । उहाँ यसै क्षेत्रको प्रदेशसभा सदस्य उम्मेदवार पनि हुनुहुन्छ । त्यस्तै एमाले जिल्ला उपाध्यक्ष जीवनराज थापा पनि यसै क्षेत्रको हुनुहुन्छ । कार्यकर्ता स्तरमा पनि हामी मिलेर अघि बढेका छौं । त्यसैलेपनि यस क्षेत्रमा बामगगठबन्धन गाँठो निकै बलियो भएको ठानेकी छु ।
तपाईंको राजनैतिक यात्रा कहाँबाट सुरु भयो ।
@ मेरो बुवा चन्द्र बहादुर मगर तत्कालीन नेकपा माओवादीको स्थापन जिल्ला सदस्य हुनुहुन्थ्यो । घरपरिवार र बुवाको विचार बाट नै म पनि सानै देखि कम्युनिष्ट विचारधारा तिर प्रेरित भए । मेरो जन्म २०४० सालमा पुनर्वास मै भएको हो । मेरो राजनैतिक यात्रा २०५१ सालमा११ बर्षको उमेर देखि भएको हो । जतिबेला म कक्षा ५ मा पढ्द्थे, त्यतिबेला मलाई सबै कुरा थाहा हुने उमेर नै थिएन । जुनबेला जनयुद्ध तयारी चरण भनेर तत्कालीन नेकपा माओवादीले अभियान चालिरहँदा कञ्चनपुरमा भएको साँस्कृतिक कार्यक्रममा कमान्डर पुष्कर शर्माको मातहतमा जन बाल कलाकारको रुपमा कार्यक्रममा सहभागी भए । त्यतिबेला देखि सबै कुरा थाहा नभएपनि जनयुद्ध किन आवस्यक भन्ने भाव सहित त्यतिबेला त्यो अभियानमा होमिएको थिए । विद्यार्थी संघठन, अखिल क्रान्तिकारी हुँदै अनेमा संघ क्रान्तिकारीको स्थापन जिल्ला अध्यक्ष सम्म भए अनि अध्ययनको सिलसिलामा काठमाडौ गए त्यसपछी मैले पुर्णकालिन राजनीति सुरु गरेँ । २०६० सालमा म गिरफ्तारमा परें जतिबेला म २० बर्षको थिए । विभिन्न सञ्चार माध्यम र मानव अधिकारकर्मीहरुको निरन्तरको खोजी पछि मलाई २७ महिनाको बन्दी जीवनबाट मुक्त गरायो । त्यो २७ महिना यति पिडादायी थियो की त्यहाँबाट बाँचेर बाहिर निस्कन्छु जस्तो कहिल्यै ठानिन । यति धेरै यातना दिइन्थ्यो की त्यो अहिले म बयान गर्न नै सक्दिन । यसरी नै पीडादायी स्थितिबाट मेरो राजनीति सुरु भयो ।
तपाईं प्रचण्डको बुहारी भनेर यस क्षेत्रले तपाईंबाट ठुलो आशा गरिरहेको छ । आफ्नो सरकार हुँदा सिंहदरबारमा तपाईंको निकै हालीमुहाली छ भन्ने समाचारहरु आए! तर विकासको क्षेत्रमा खासै उल्लेख उपलब्धि भएको पाईएन नि!
@ पक्कैपनि म बाट जनताले आशा अपेक्षा राख्नु स्वाभाविक नै हो । तर जुन किसिमले नियोजित रुपमा सिंहदरबारमा प्रकाश र विनाको हालिमुहाली भएको भन्ने समाचार आए ती समाचारहरुले एउटा पात्रलाई देखाएर सिंगो नेतृत्वमा प्रहार गर्न खोजेको मात्र हो । त्यस्तो कहिल्यै भएन । म गत निर्वाचनमा निर्वाचित पनि हुन सकिन । सरकार सञ्चालनमा मेरो कुनै संलग्नता रहेन । तसर्थ तत्कालीन अवस्थामा मेरो क्षेत्रका लागि मैले ठुलो काम केहि गर्न सक्ने स्थिति थिएन । तर पनि यो ५ बर्ष भित्रमा यस क्षेत्रका विभिन्न सडक सञ्जालहरु लगायतमा मैले केहि विकासका कामहरु गरेकी छु ।
बाम गठबन्धनको घोषणा पत्रमा त हेरियो । यस क्षेत्रमा रहेको सीमा समस्यालाई कसरी बुझ्नुभएको छ ? सीमा समस्या सुल्झाउन तपाईंको कस्तो पहल रहन्छ ?
@ सीमा समस्या यस क्षेत्रको जटिल समस्या हो । मेरो आफ्नै क्षेत्र भएकाले मैले प्रत्यक्ष भोगेकी छु । सीमाको घाउ चर्को छ । यसको समाधानका लागि मैले आफ्नो जोडदार पहलकदमी रहनेछ । यहाँ अर्को गोविन्द गौतमले बलिदान दिन नपरोस् भनी संकल्प गरी यस समस्या सुल्झाउन लागिपर्ने छु ।
निर्वाचनमा महिला उम्मेदवारहरुले कस्तो खाले कठिनाइहरु भोग्नुपर्ने रहेछ जस्तो लाग्छ ?
@ महिलाका लागि त्यति धेरै सहज छैन । निकै जटिलता छ नै । संविधानले महिलाहरुलाई ३३% अधिकार सुरक्षित गरिदिएको छ । प्रदेश सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा समेत नेपाली कांग्रेस होस वा, बाम गठबन्धनका माओवादी र एमाले लगायत कुनैपनी दलले महिलाहरुलाई न्यून मात्रामा उम्मेदवार बनाएको छ । हामी महिलाहरुले हिम्मत गर्न नै पहिलो कठिनाइ हुन्छ । पार्टी नेतृत्वले पनि महिला नेतृत्वलाई प्रोत्साहन गर्न सकेको छैन । अब महिला अधिकारका कुराहरु घनिभुत तरिकाले उठाउनु नै पर्छ । यिनै विविध चुनौतीका बावजुद मेरो उम्मेदवारी रहेको छ । हाल मलाई भने त्यति धेरै गारो त छैन । आफ्नै दाजुभाइ, बुवा, अंकलहरु नै मलाई डोर्याएर हिड्नु भएको छ ।
तपाईंले जित्नु र अरुले जित्नुमा यस क्षेत्रका जनताले के फरक पाउँछन् ?
@ पक्कैपनी धेरै फरक पाउनुहुनेछ । यसअघि निर्वाचित दिवानसिंह बिष्टले जित्नुभयो भने ४ बर्षमा यस क्षेत्रमा भएको यथास्थिति रहने पक्का हो । उहाँको कार्यकाल यसरी नै निरन्तरता हुने हो । यसलाई जनताले बुझेका छन । म एक युवा भएका कारणले जोस जाँगर भएको कारणले मैले मेरो क्षामताले भ्याएसम्म पहलकदमी गर्छु । यस क्षेत्रको विकासले रफ्तार लिन्छ भन्नेमा जनता ढुक्क भएहुन्छ । म प्रति मात्र होइन जनता बाम गठबन्धनका प्रदेश सभा उम्मेदवार कमरेड तारा लामा तथा कमरेड कुलवीर चौधरी प्रति जनताको ठुलो आशा अपेक्षा छ । हामी त्यो अपेक्षा पूरा गर्नेमा प्रतिबद्ध छौं ।
यस क्षेत्रका लागि तपाईंका मुख्य मुख्य भिजनहरु बताईदिनुस न ।
@ यस क्षेत्रका लागि मेरो मुख्य एजेन्डाहरुमा औद्योगिक विकासलाई मुख्य उद्देश्यका साथ हेरेको छु । सुदुरपश्चिमका दुई ठुला व्यापारिक केन्द्र धनगढी र महेन्द्रनगर विचमा रहेको कञ्चनपुरको दक्षिणीभेगलाई औद्योगिक विकासले अघि बढाउन सकिने योजना लिएको छु । त्यस्तै शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्ने, कृषिक्षेत्रमा आधुनिकीकरण, यस क्षेत्रका साना ठुला सडकको स्तरोन्नति गर्ने, सीमा व्यवस्थापन, यस क्षेत्रलाई पर्यटन क्षेत्रमा समेत विकास गर्ने मेरा मुख्य मुख्य एजेन्डाहरु हुन ।
धन्यवाद, व्यस्तताका वावजुद समय दिनुभयो ।
@ धन्यवाद, तपाईं लगायत हाम्रै साझा पत्रिकालाई मेरो कुरालाई स्थान दिई गाउँ सहर सम्म पुर्याउन सहयोग गर्नुभएकोमा ।
Comments
Post a Comment